काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।
सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्त्व दिन आग्रह गरे ।
कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने उनले बता्ए । उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास पनि दिलाए ।
‘मैले पहिला ग्यास र खानीको उत्खनन्को कुरा गर्दा उडाउनेहरूले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन् तर कर्णाली त्यति सारो बैगुनी हुन सक्दैन । अब हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौं’, उनले भने, ‘निरकुंश राजतन्त्रको अध्याँरो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।’
ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भएको स्मरण गराए ।