काठमाडौं । आज हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको दिन । बिहानैदेखि शिवमन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । भगवान् आराध्यदेव पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।
दर्शनार्थीको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी र पर्यवेक्षक परिचालन गरिएको छ । उपत्यकाको विभिन्न ठाउँबाट पशुपति पुग्ने दर्शनार्थीको सुविधाका लागि अन्य दिनभन्दा उक्त दिन ७ सय ५० बढी ट्राफिक प्रहरी खटाइएको छ ।
उपत्यका ट्राफिक महासाखाका प्रमुख नवराज अधिकारीका अनुसार दर्शनार्थीको भीडलाई मध्यनजर गर्दै मंगलबार सार्वजनिक सवारीसाधनको रुट पनि परिवर्तन गरिएको छ ।
पशुपति क्षेत्रमा केही समय सवारी आवागमन बन्द गरिनेछ । उक्त क्षेत्रको सुरक्षाका लागि अन्य दिनभन्दा २५ सय बढी प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एसपीको कमाण्डमा सुरक्षा टोली परिचालन गरिएको छ ।
यस्तै पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुने भएका छन् ।
हरितालिका तिजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुनेछन् । जसमा १ सय ३२ जना महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिने छन् ।