एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ आज दुईदिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार सात वर्षपछि राष्ट्रपति सी दोस्रो राजकीय भ्रमणका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् ।
राष्ट्रपति सिलाई विमानस्थलमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले भव्य गरेका छन्।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले किम जोङ र सी चिनपिङबीच हात मिलाएर भेटघाट भएको तथा उत्तर कोरियाली बालबालिकाहरूले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा अर्पण गरेको भिडियो सार्वजनिक गरेको छ।
दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ ।
केही साताअघि सिले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छुट्टाछुट्टै आतिथ्यता दिएका थिए ।
विश्लेषकहरूका अनुसार चीनले आफूलाई विश्व राजनीतिमा प्रभावशाली शक्ति र मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । भ्रमणअघि उत्तर कोरियाली सञ्चारमाध्यमलाई पठाएको सन्देशमा सी जिनपिङले चीन र उत्तर कोरियाबीचको परम्परागत मित्रता समय र अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनसँगै अझ मजबुत बनेको बताएका छन् ।
हालका वर्षहरूमा उत्तर कोरिया र रुसबीच सम्बन्ध नजिकिँदै गए पनि चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक सहयोगी र कूटनीतिक साझेदार रहेको सन्देश दिन बेइजिङले यो भ्रमणलाई उपयोग गरेको विश्लेषण गरिएको छ ।
राष्ट्रपति सी र नेता किम जोङको रणनीतिक नेतृत्वमा चीन-उत्तर कोरिया सम्बन्ध निरन्तर सुदृढ र स्थिर रूपमा अघि बढिरहेको छ ।
यस वर्ष चीन र उत्तर कोरियाबीच भएको मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सव समेत परेकाले पनि भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
एक वर्षअघि मात्र चीनले दोस्रो विश्वयुद्धको क्रममा जापानले मित्रराष्ट्रहरूसमक्ष बिना सर्त आत्मसमर्पण गरेको ८० वर्ष पूरा भएको अवसरमा आयोजना गरेको विशाल सैन्य परेडका क्रममा बेइजिङमा यी दुई नेताको भेट भएको थियो ।