Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दैलेख प्रहरीले गर्‍यो सुरेन्द्र हत्या प्रकरणको सफल अनुसन्धान, प्रेमिकासहित आमा–बुबा जेलमा

दैलेख प्रहरीले गर्‍यो सुरेन्द्र हत्या प्रकरणको सफल अनुसन्धान, प्रेमिकासहित आमा–बुबा जेलमा

बुधवार , भाद्र ११, २०८२

दैलेख । दैलेख प्रहरीले प्रेम, पैसा र योजनाबद्ध षड्यन्त्रमा आधारित एउटा चर्चित हत्याकाण्डको सफल अनुसन्धान गरी तीन जना प्रतिवादीलाई अदालतमा पेश गरेको छ ।

साउन ११ गते बिहान करिब ६ बजे दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोलाको किनारमा एक युवक मृत भेटिएपछि सुरु भएको अनुसन्धानले ठूलो रहस्य खोलेको हो ।

तल्लो भाग नग्न र माथिल्लो भागमा “BE THE CHANGE MALAYASIA” लेखिएको टिसर्ट लगाएका अन्दाजी ३५–४० वर्षका देखिने शव चामुण्डाबिन्द्रासैनी–६ पिपलचौरका २७ वर्षीय सुरेन्द्र बहादुर शाहीको भएको सनाखत भएको थियो ।

घटना रहस्यमय भएपछि मृतकका बुबा झक्क बहादुर शाहीले अज्ञात प्रतिवादीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिँदा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

घटना शंकास्पद भएकाले प्रहरीले सुरेन्द्रको शव भेटिएको मितिदेखि विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान थालेको थियो । अनुसन्धानबाट सर्वप्रथम महाबु गाउँपालिका–५ कासीकाधकी २७ वर्षीया गंगा वनको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय दैलखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालले जानकारी दिए ।

डीएसपी बरालका अनुसार वैदेशिक रोजगारीका लागि सुरेन्द्र ३३ महिनाअघि मलेसिया गएका थिए । उनी विदेश गएको एक वर्षपछि श्रीमतीले घरमा दुई छोरी, एक छोरा अलपत्र पारेर गाउँकै अर्को पुरुषसँग विवाह गरिन् । पत्नी अर्कैसँग गएपछि तनावमा थिए । त्यसपछि उनको फेसबुकमार्फत गंगासँग प्रेम सम्बन्ध बस्यो ।

विवाह गर्ने प्रलोभन देखाउँदै गंगाले सुरेन्द्रलाई विभिन्न समयमा ४ लाख ४६ हजार ९२० रुपैयाँ पठाउन बाध्य बनाएकी थिइन् । तर पैसा लिएको केही समयपछि उनले मृतकलाई फेसबुकमा अनफ्रेण्ड गर्दै मोबाइलमा समेत ब्लक गरिन् । विदेश जान भिसा प्रक्रियाका लागि काठमाडौंसमेत पुगेकी थिइन् ।

मृतक नेपाल आएपछि गंगाका बुबा नैने वन र आमा भकु वनले समेत ‘छोरीसँग विवाह गरिदिन्छौं’ भन्दै नियमित सम्पर्क राखे । यही विश्वासमा मृतकलाई साउन १० गते राति महाबु गाउँपालिका–४ र ५ जोड्ने छामघाट खोलामाथिको झोलुङ्गे पुलमा बोलाइयो ।

त्यहीँ राति करिब ११ बजे गंगा र सुरेन्द्रबीच झगडा भयो र योजनाबद्ध रूपमा उनलाई पुलबाट खोलामा खसालेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

अनुसन्धानपछि गंगा वनमाथि कर्तव्य ज्यान र आपराधिक लाभ सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने उनका बुबा–आमामाथि आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारको मुद्दा चलाइएको छ ।

घटना अत्यन्त जटिल र योजनाबद्ध देखिए पनि दैलेख प्रहरीले संयमित अनुसन्धान गरी घटनामा संलग्न तीनै जनालाई कानुनी दायरामा ल्याउन सफल भएको हो । घटनाका आरोपित तीनै जनालाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउन दैलेख जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले सुरेन्द्रको हत्या भएको निष्कर्ष सहतिको प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा आइतबार ‘कर्तव्य ज्यान’ सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077