काठमाडौं । सर्वोच्च अदालतमा झण्डै दुई महिनापछि संवैधानिक इजलास गठन भएको छ।
गत असार १८ गते संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद फैसलामा न्यायाधीशहरूबीच राय बाझीएपछि पहिलोपल्ट आज संवैधानिक इजलास बस्ने भएको हो।
आजको संवैधानिक इजलास वरिष्ठतामा अगाडि रहेका न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र कुमार चूडाललाई छुटाइएको छ।
आज संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेका छन् ।
प्रधानन्यायाधीश राउतले आज बिहान सर्वोच्च अदालतमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानन्यायाधीशले नै न्यायाधीश तोक्ने व्यवस्था कायम गरिएको बताएका थिए ।
यसअघि संवैधानिक इजलास गठन प्रक्रियामा विवाद देखिएको थियो ।