Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अमेरिकी दूतावासद्वारा केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई विभिन्न उपकरणहरु हस्तान्तरण

अमेरिकी दूतावासद्वारा केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई विभिन्न उपकरणहरु हस्तान्तरण

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई संयुक्त डीएनए अनुक्रमणिका प्रणाली (CODIS)-डीएनए सफ्टवेयर र रेडियन वायुमण्डलीय दबाव ठोस विश्लेषण प्रोब (ASAP)मास स्पेक्ट्रोमिटर-औषधि पत्ता लगाउने उपकरण हस्तान्तरण गरेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितीमा नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा बुधबार आयोजित कार्यक्रमबीच उक्त प्रविधि हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणहरू समेत प्राप्त हुने विश्वास व्यक्त गरे ।

CODIS  प्रणालीको सुविधाले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै Radian ASAP Mass Spectrometer ले लागूऔषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने उनले बताए ।

प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवम् विकासको लागि विगतका वर्षहरूमा विभिन्न परामर्श, तालिमहरू र उपकरणहरू समेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप क्षमतावान एवम् दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताए ।

आधुनिक प्रविधिहरूको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानून कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा नेपालको लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज हस्तान्तरण गरिएको आधुनिक प्रविधिले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवम् हराएका व्यक्तिको पहिचानमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077