Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अख्तियारद्वारा अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३६ लाखभन्दा बढी बिगो माग

अख्तियारद्वारा अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३६ लाखभन्दा बढी बिगो माग

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ३६ लाख २० हजार ५७८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा भेरी नगरपालिकाका इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिल साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापा रहेका छन् ।

यस्तै, अख्तियारले न्यू बीकेरनहकुली जेभी तथा यसका साझेदारहरू न्यू बीके बिल्डर्स एन्ड सप्लायर्सका प्रोप्राइटर गंगाकुमार खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्रबहादुर बोहराविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

भेरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुनविपरीतको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले ३६ लाख २० हजार ५७८ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077