रौतहट । तस्करीको चिनी गायब बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एसपीसहित तीनजना अधिकृत छानबिनमा परेका छन् ।
रौतहटस्थित सशस्त्र प्रहरी ११ नम्बर गणका एसपी सन्तोष बस्नेतसहित डीएसपीद्वय अमर लामा र राजेन्द्र बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले तत्काल जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो ।
करिब ७ सय किलो तस्करीको चिनी रहेको चन्द्रपुरस्थित गोदाममा गत २९ साउनमा छापा हानेको टोलीले १०६ बोरा मात्र भन्सार बुझाएको सूचनापछि घटनामा शंका उत्पन्न भएको थियो ।
प्रारम्भिक छानबिनमै चिनी गायब बनाइएको आधार भेटिएपछि जिल्लाका प्रमुख एसपीदेखि दुई डीएसपी कारबाहीको दायरामा तानिएका हुन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि चिनी गायब भएको आशंकामा संलग्न अधिकारीमाथि छानबिन भइरहेको पुष्टि गरेको छ । डीएसपी लामा ११ नम्बर गणमा कार्यरत रहे पनि केही दिनका लागि सन्तपुर बेसमा खटिएका बेला सो घटनामा संलग्न भएको खुलेको छ ।
छापा मार्ने क्रममा दुईवटा ट्रकमा चिनी लोड गरिएकोमा एउटा ठुलो ट्रक नै गायब भएको प्रारम्भिक तथ्यांक छ । यस प्रकरणमा तल्लो तहका प्रहरीसमेत संलग्न भएको आशंका गरी उनीहरूबाट पनि सोधपुछ भइरहेको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार, तराईका अन्य जिल्लाका कमान्डरविरुद्ध पनि उजुरी परेको छ । त्यहाँ पनि विस्तृत छानबिन भइरहेको बताइएको छ ।