काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको दाबी गरिएको छ ।
प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन् ।
भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे उनले जानकारी गराएका हुन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहेका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको जानकारी दिए।
प्रधानमन्त्री ओलीको भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिई सो सङ्गठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नाका साथै त्यसमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु रहेको थियो ।
त्यस्तै उनले भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए।
सन् २००१ मा स्थापना गरिएको एससीओ संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस पूर्ण सदस्य हुन् ।
यस्तै अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।