काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयसँगै एनसेलले आफ्ना प्रयोगकर्तालाई अग्रिम जानकारी दिएको छ ।
बिहीबार सरकारले २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल रोक्ने निर्णय गरेपछि एनसेलले विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यस्तो कदम चालिएको जनाएको हो ।
एनसेलले सूचनामा भनेको छ, “सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरीय निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गर्नका लागि निर्देशन प्राप्त भएको छ। यसअनुसार अब एनसेलको इन्टरनेट सेवाबाट यस्ता प्लेटफर्म सञ्चालन नहुनेछ।”
यद्यपि टिकटक, भाइबरलगायत नेपालमा दर्ता भइसकेका सामाजिक सञ्जाल भने एनसेलको डाटा सेवामार्फत सामान्य रूपमा प्रयोग गर्न सकिने एनसेलले स्पष्ट पारेको छ।
सरकारले हालैको निर्णयमार्फत दर्ता नभएका सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनमा रोक लगाउने भन्दै सर्वसाधारणलाई वैकल्पिक कानुनी माध्यम प्रयोग गर्न आह्वान गरेको छ।