काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अबरुद्ध हुँदा कार्यक्रम एक घन्टा ढिला सुरु भएको छ ।
हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो । तर, उक्त गाडी रोक्दै अगाडि बढेको भिडियो सार्वजनिक भइसकेको छ ।
शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
सामाजिक सञ्जालहरुमा आएका भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङको केही अगाडिबाट बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको देखिन्छ । ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्।
बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ। गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ। प्रहरीका अनुसार घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार छिन्। उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको छ।
मन्त्री सवार गाडीलाई भने प्रहरीले गोदावरीबाट नियन्त्रणमा लिइसकेको छ । एमालेबाट मन्त्री भएका जोशी ललितपुरमा शुक्रबारदेखि सुरू भएको विधान महाधिवेशनमा सहभागी हुन शनिबार बिहान गोदावरी जाँदै थिए।
यसैबीच, बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिंदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएको अध्यक्ष ओलीले आरोप लगाए ।
उनले भने–‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो । भवितव्य घट्ना भएको । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दशत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ ।
निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेस हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसकेका छन् ।
यसैबीच, एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यी समिति बनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेका हुन् । अन्य सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन् ।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले बताए । प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्दैछ ।