काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई निमन्त्रणा नदिइएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ढकालले पार्टी स्थापना प्रक्रियामा आफूले खेलेको भूमिकाको स्मरण गराउँदै महाधिवेशनको निम्तो सूचीमै आफ्नो नाम नराखिएकोप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, 'आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।'
ढकालले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयन गर्ने कार्यक्रम नभई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसर हुनुपर्ने धारणा राखेका छन्। उनले पार्टी नेतृत्वलाई 'राजव्यक्ति होइन, राजनीति गर्न' सुझाव पनि दिएका छन्।
यता, चितवनको भरतपुरमा आइतबारदेखि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।
महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा उद्घाटन गरेका छन् भने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ ।