काठमाडौं । देशभर उग्र बनेको जेनजी आन्दोलनका क्रममा १७ जनाको ज्यान गएपछि नेपाली कांग्रेसले यसबारे गम्भीर छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो ।
बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई विशेष रुपमा बोलाइएको छ । उनीहरू दुवैजना बैठकमा सहभागी छन् ।
त्यसैगरी, बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डे पनि सहभागी छन्।
तर उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ भने काठमाडौँ बाहिर रहेका कारण बैठकमा उपस्थित छैनन् ।
बैठकले जेनजी आन्दोलनको कारण बनेको सामाजिक सञ्जाल प्रतिबन्ध, सरकारको भूमिका, मृतकका परिवारलाई न्याय दिलाउने तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ।