काठमाडौँ । नेकपा एमालेले काठमाडौं लगायत देशभर जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार साँझ जारी विज्ञप्तिमा भने, “आज मुलुकमा जेनजी नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दर्जनौँ व्यक्तिको मृत्यु भएको छ। ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ। यो एउटा हृदयविदारक र दुःखद घटना हो।”
काठमाडौं र इटहरीमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्।
एमालेले आन्दोलनकारी र सरकार दुवैलाई संयमताका साथ वार्ताद्वारा समस्या समाधान गर्न आग्रह गरेको छ। साथै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
पार्टीले यस हिंसात्मक घटनाले मुलुकको शान्ति र जनताको सुरक्षामा ठूलो चुनौती प्रस्तुत गरेको भन्दै राजनीतिक संयम अपनाउन सबै पक्षलाई आह्वान गरेको छ।