काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले आह्वान गरेको सोमबारको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफू “मर्माहत” भएको बताएका छन् ।
उनले मृतक परिवारलाई उचित राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार राति विज्ञप्तिमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गर्ने घोषणा गरे ।
उनले भने, “आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानबिन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरू हुन नदिन सिफारिस गर्नेगरी समिति गठन गरिने विश्वास दिलाउन चाहन्छु।”
प्रधानमन्त्री ओलीका अनुसार, सरकार जेनजी पुस्ताले उठाएका मागलाई अस्वीकार गर्ने पक्षमा थिएन। तर, विभिन्न स्वार्थसमूहको घुसपैठका कारण प्रदर्शन हिंसात्मक बन्न पुगेको उनले दाबी गरे।
“जेनजीले राखेको मागप्रति सरकार नकारात्मक थिएन, हामी उनीहरूको आवाज सुन्दै थियौँ। तर, संवैधानिक संस्थाका कार्यालयमा तोडफोड र आगजनी गरी क्षति गर्ने घटनाले निर्दोष नागरिकको ज्यान जाने अवस्था सिर्जना गर्यो,” ओलीले स्पष्ट पारे।
उनका अनुसार, प्रदर्शन आयोजक संस्थाले पनि घुसपैठ भएको स्वीकार गर्दै प्रदर्शन अन्त्यको घोषणा गरेपछि तोडफोड र आगजनी जारी रहनु घटनाको प्रमाण हो।
सामाजिक सञ्जाल बन्दबारे उठेका प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि नीति अनुसार सामाजिक सञ्जाल रोक्ने निर्णय नगरेको दाबी गरे। उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा अस्थायी अवरोध भएको बताए।
“हामी सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा छैनौँ। बीस वर्षदेखि नयाँ पुस्ताले यसलाई प्रयोग गर्दै आएको छ। हामीले यसलाई दर्ता, सूचीकरण र नियमनमार्फत व्यवस्थित बनाउन खोजेका हौँ,” उनले भने ।