काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले काठमाडौँ लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको प्रस्ट पारेको छ ।
‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।’
हाल उठेको सुशासन र आर्थिक अननुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना पूर्वराजाले राखेको संवाद सचिवालयले प्रस्ट पारेको छ ।