काठमाडौं । राष्ट्रिय स्वतन्त्र समाजवादी पार्टीका सभापति रवि लामिछानेले देशभर जारी आन्दोलनप्रति संयमता अपनाउन र सरकारी तथा संवेदनशील दस्तावेजहरुको संरक्षण गर्न सर्वसाधारणसँग अपिल गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जालमार्फत् जारी गरेको अपिलमा उनले सुरुमा आन्दोलनका क्रममा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनको भनाइअनुसार, “यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ” र ती व्यक्तिहरूको बाँकी सम्पत्ति आवश्यक परेमा राष्ट्रियकरण गर्नुपर्ने धारणा राखेको उल्लेख छ।
उनले भनेका छन् कि आन्दोलन जेनजीको भए पनि अब अत्यन्त संयम र राष्ट्रिय सम्पत्ति जोगाउने जिम्मेवारी सबैको हो। विशेष गरी राष्ट्रिय सुरक्षा, प्रहरी, न्यायालय र अन्य सुरक्षा निकायसँग सम्बन्धित दस्तावेजहरू संवेदनशील भएको र तिनको संरक्षण हुनुपर्ने कुरा उनले जोड दिएका छन् ।
अपिलमा लामिछानेले भनेका छन् कि सरकारी सम्पत्तिमा हुने क्षतिले राष्ट्रलाई दीर्घकालीन रुपमा हानि पुर्याउनसक्ने चिन्ता व्यक्त गरेका छन्।
अपिलमा लामिछानेले आफूले नागरिक सर्वोच्चताको पक्षमा रहेको र मुलुकको भविष्य जेनजीको माग र परिकल्पनाअनुरूप अगाडि बढ्नु पर्नेमा स्पष्टता व्यक्त गरेका छन्।
साथै, आफ्नो रिहाइ सम्बन्धमा सरकारले कानुशमोजिमको प्रक्रिया पुरा गरेपछि उनी कारागारबाट रिहा भएका र भविष्यमा आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको पनि उनले जानकारी दिएका छन्।
उनले अन्त्यमा सबै नागरिकलाई सचेत र संयमित हुन हार्दिक अनुरोध गर्दै आन्दोलन शान्तिपूर्ण र देशव्यापी हितमा अघि बढोस् भन्ने कामना गरेका छन्।