काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्दोलन हिंसात्मक मोडतर्फ धकेलिनु दुःखद भएको बताउँदै युवा पुस्तालाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतन्त्रका आधारस्तम्भहरूमा तोडफोड र आगजनी गर्ने गतिविधि जेनजी आन्दोलनका मूल लक्ष्यसँग मेल नखाने प्रष्ट पारेका छन् ।
भट्टराईले भने, “शायद ‘क्रान्ति’ अब ‘प्रतिक्रान्ति’मा परिणत हुँदैछ। संसद, सिंहदरबार, अदालत, दलका कार्यालय र नेताका आवासमा आगजनी गर्ने कार्य तपाईंहरूकै होइन भन्नेमा म विश्वस्त छु। त्यसैले ती ‘भेडाको खोल ओढेका ब्वाँसाहरू’लाई चिन्ने प्रयास गर्नुहोस् र अब त्यो आगो निभाउने काममा लाग्नुहोस्।”
उनले विश्वका महान् क्रान्तिहरूको इतिहास पढ्नुपर्नेमा जोड दिँदै फ्रान्सेली क्रान्ति र नेपालकै ‘नयाँ कोतपर्व’को प्रसङ्गसमेत उल्लेख गरे। “विदेशी भेषभूषा धारण गरेर आन्दोलन भित्रिन खोज्ने तत्वहरूबाट सतर्क रहनु आवश्यक छ,” भट्टराईले चेतावनी दिएका छन्।
पूर्वप्रधानमन्त्रीले आफ्नो निवासमा भएको आक्रमणबारे पनि खुलासा गर्दै भने, “सुरक्षाकर्मी र सहयोगीहरूले बल गरेर निकालेको नहुँदो हो त ९६ वर्षीय पितासहित एकै चिहान हुने रहेछौं। किताब नै मेरो सम्पत्ति हो, ती सबै खरानी भए।”
भट्टराईले अन्ततः जेनजीका युवालाई संयमित भएर आन्दोलनलाई सही बाटोमा अघि बढाउन आह्वान गर्दै भने, “अब समय आगो निभाउनेतर्फ लाग्ने हो, होइन भने तपाईंहरूको सपना प्रतिकूल दिशातर्फ मोडिने खतरा छ।”