काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजीको आन्दोलनपछि उत्पन्न सरकारविहीनताको अवस्था र नेपाली सेनाको नेतृत्वमा भइरहेको सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ ।
पार्टीले वर्तमान परिस्थितिमा मुलुकलाई लोकतान्त्रिक मूल्य र सहअस्तित्वको आधारमा अघि बढाउनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार जारी गरेको अपिल पत्रमा विधिको शासन, कानुनी सर्वोच्चता, मानवअधिकार, आवधिक निर्वाचन र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्यमा रास्वपा दृढ रहेको उल्लेख छ।
रास्वपाले नयाँ राजनीतिक कोर्षबारे चाँडै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ। “अहिलेको अवस्थामा सबैको साझा लक्ष्य स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नु हो। त्यसका लागि राजनीतिक दलहरूले जनतामाझ आशाको सन्देश दिनुपर्छ,” अपिलमा भनिएको छ।
यस्तै, पार्टीले आगामी राजनीतिक प्रक्रियालाई शान्तिपूर्ण, रचनात्मक, सहभागितामूलक र पारदर्शी बनाउन नसके परिवर्तनको चाहना दिगो रूपमा संस्थागत हुन नसक्ने चेतावनी दिएको छ।