काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मुलुकको पछिल्लो परिस्थितिबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर भएको लामो छलफलपछिको निष्कर्ष प्रस्तुत गर्दै उनले नेतृत्वप्रतिको मोह आफूमा नभएको स्पष्ट पारेका हुन् ।
“देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,” प्रसाईले भने ।
उनका अनुसार कोही पनि अगाडि नबढे आफू पिठ्युँ फर्काएर भाग्ने स्वभाव नभएको र जुनसुकै परिस्थितिको लागि तयार रहेको स्पष्ट गरेका छन्।
“आजको विषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ। अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज,” उनले जोड दिए।
प्रसाईले सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य भएको उल्लेख गर्दै यो केवल जेन(जी पुस्ताको मात्र नभई सम्पूर्ण राष्ट्रको भविष्यसँग जोडिएको विषय भएको बताए ।
“अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न,” उनले भने ।