काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नख्खु कारागारबाट स्वेच्छाले निस्किएको नभई कारागार प्रशासनले जबरजस्ती बाहिर निकालेको दाबी गरेका छन् ।
मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले ‘बिनापत्र जान्न’ भनेको तर कारागारले नै धकेलेर पठाएको स्पष्ट पारेका हुन्।
लामिछानेले भने, “मैले कारागारमा भनेको थिएँ, बिनापत्र म बाहिर जान्नँ। तर उनीहरूले दिएको पत्र मैले जस्ताको त्यस्तै सार्वजनिक गरिसकेको छु। मलाई भिड बढेपछि जबर्जस्ती बाहिर धकेलिएको हो।”
उनले आफूलाई फेरि पनि कारागार पठाउन तयार रहेको बताउँदै सुरक्षा निकाय र न्यायिक निकायलाई यसबारे जानकारी गराइसकेको बताए। प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखसँग गरेको संवादको उल्लेख गर्दै उनले थपे, “मलाई तपाईंहरूले कस्टडीमा लिनुस् वा कारागार पठाउनुस् भनेँ। तर उहाँहरूले नै भन्नुभयो, तपाईं आफैं सुरक्षित बस्नुस्, सुरक्षा दिन सकिँदैन।”
लामिछाने आक्रामक शैलीमा प्रस्तुत हुँदै सरकारले आफूलाई सरकारमा प्रवेश गर्ने दौडमा देखाउन खोजेको आरोप अस्वीकार गरे। उनले प्रष्ट पारे, “म कुनै सरकार बनाउन वा प्रवेश गर्न दगुर्ने रेसमा छैन। न त कसैसँग कुनै बैठक गरेको छु। मेरो नाममा विवाद नफैलाउनुस्। यो आन्दोलन जेनजी पुस्ताको हो, नेतृत्व उनीहरूले नै तय गर्न दिनुपर्छ।”
उनले अझै पनि ओली र देउवाको शासनकालमा लगाइएका झुटा मुद्दाले आफूलाई सताइरहेको गुनासो गरे। “जनताले उनीहरूलाई खेदेर लखेटे, तर झुटा मुद्दा अझै पनि मेरो टाउकोमा बोकेको छु,” उनले भने।
देशमा लोकतन्त्र र नागरिक सर्वोच्चताको रक्षा आफ्नो जीवनभर गर्ने अठोट व्यक्त गर्दै उनले प्रश्न उठाए, “सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दैन, कारागारले बाहिर निकाल्छ, बाटोमा आक्रोशित भिड छ। अब भन्नुस्—म बाँच्न पाउने कि नपाउनेरु”
लामिछानेले अन्त्यमा जोड दिए, “म र मेरो पार्टीलाई कुनै लाभ चाहिएको छैन। यो मुद्दा जनताको हो। स्पष्ट भनिदिन चाहन्छु—लाउड एन्ड क्लियर।”