काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।
शिवपुरीबाट बुधबार जारी वक्तव्यमार्फत ओलीले देशको व्यवस्थामाथि खतरा सिर्जना गर्न सक्ने त्यस्ता गतिविधिप्रति सचेत रहन सबैलाई आह्वान गरेका हुन् ।
ओलीले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। श्रीराम नेपालमा जन्मिएका हुन् भनेर पनि मैले जिद्दी गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए म धेरै अवसरहरू पाउने थिएँ। तर म देश र सत्यको पक्षमा उभिन बाध्य भएँ।”
व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा तत्कालीन सत्ताबाट पाएको यातनाले आफ्ना सन्तान नहुने अवस्था भएको स्मरण गर्दै ओलीले भावुक हुँदै भने, “तर ‘बा’ बन्ने रहर कहिल्यै मरेन । प्रहरीको गोलीले जब मेरा छोराछोरीहरूको जीवन लियो, त्यो दिनदेखि मेरो जीवनमा धेरै कुरा सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।”
उनले जोड दिए, “पदमा रहनु वा नरहनु मेरो लागि ठूलो कुरा होइन। तर यो व्यवस्था बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। जसले सबैलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, त्यस व्यवस्थामाथि सम्झौता हुँदैन।”
जेन्जी आन्दोलनलाई सम्मान गर्ने तर त्यसलाई गलत राजनीतिक लाभ उठाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै ओलीले भने, “निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। यसप्रति सबै सतर्क हुनुपर्छ।”
उनले देश र नागरिकको अधिकार सुरक्षित गर्न सबैलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका छन्।