काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्तालाई धैर्य र एकताको सन्देश दिँदै देश अब अन्तरिम सरकारतर्फ अघि बढेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको वक्तव्यमा आगामी चुनावी सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्न सक्ने प्रस्तावलाई आफूले पूर्ण समर्थन गर्ने बताएका छन् ।
उनले भने, “प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह— तपाईंहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।”
शाहले स्पष्ट पारेका छन् कि अन्तरिम सरकारको मुख्य काम आगामी चुनाव गराउने र नयाँ जनादेश दिलाउने हो । उनले अस्थायी नेतृत्वमा आउन हतार नगर्न युवापुस्तालाई सुझाव दिँदै, “तपाईँहरूको जोश र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव हुन्छ नै,” भनेका छन् ।
राष्ट्रपतिसमक्ष उनले तत्काल संसद् विघटन र अन्तरिम सरकार गठनको आग्रहसमेत गरेका छन् । शाहले जेनजीले सुरु गरेको ऐतिहासिक आन्दोलनलाई ‘देशको नयाँ दिशा’ भन्दै त्यसलाई संस्थागत गर्न सबैलाई संयमित हुन आह्वान गरेका छन् ।