काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत जारी अपिलमा उनले जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलन भन्दै राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
श्रेष्ठले पाँच बुँदे एजेन्डा सार्वजनिक गर्दै विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन, लोकतन्त्रलाई परिमार्जन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहित राजनीतिक स्थिरता कायम गर्न, सुशासन र भ्रष्टाचार अन्त्यलाई सुनिश्चित गर्न तथा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नुपर्ने धारणा राखेका छन्।
उनले भने, “प्रधानमन्त्रीको राजीनामापछि देखिएको राजनीतिक रिक्तता धेरै लम्बिनु हुँदैन। तर निकास संविधान र त्यसले निर्माण गरेका संस्थाहरूको प्रक्रियाबाटै खोजिनुपर्छ।”
श्रेष्ठले आन्दोलनमा अराजक तत्वहरूको प्रवेशका कारण सार्वजनिक सम्पत्ति र राज्यका निकायहरूमा आक्रमण हुनु दुःखद भएको बताए। तर भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको उठानलाई माओवादी केन्द्रले समर्थन गर्ने स्पष्ट गरेका छन्।
उनले अझै भने, “प्रतिगमन तर्फ लैजाने प्रयास भएमा त्यसलाई असफल पार्ने जिम्मेवारी हाम्रो हुन्छ। संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्दै राजनीतिक अस्थिरता अन्त्य गर्नुपर्छ।”
श्रेष्ठको अपिलमा पार्टी रुपान्तरण र पुनर्गठनलाई नयाँ शिराबाट अघि बढाउने प्रतिबद्धता पनि प्रष्ट पारिएको छ।