काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ भने केही समय अघिदेखि पूर्वराजालाई ल्याउने भनेर बाहिरिएका सूचनाहरुमा सत्यता नभएको बताइएको छ ।
नेपाली सेनाका एक अधिकृतले जेनजी प्रतिनिधिसँगको टेलिफोन वार्ताका क्रममा राजा फर्काउने सूचनामा सत्यता नभएको बताएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।
‘अबको लगभग सात घण्टा केही तलमाथि नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।’–स्रोतले भन्यो ।
उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए।
सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ।
जेनजी प्रतिनिधिहरूले रातको १२ बजेभित्र कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन निर्णय नभए राष्ट्रपति भवनबाट रामचन्द्र पौडेललाई घिसार्ने चेतावनी दिएका थिए ।