काठमाडौं । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सेवा अवधिको कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
०७९ भदौ २८ मा विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा नियुक्त भएका थापा तीन वर्षको सेवा अवधिको कारण अगामी भदौ २८ गतेदेखि उनी अनिवार्य अवकाशमा जाने भएका हुन् । आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा भोलि अवकाशमा जाने भएसँगै मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ ।
जेनजीको आन्दोलन पछि देश शून्य अवस्थामा छ । गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा पनि सैनिक मुख्यालय जंगी अड्डामा छलफल चलिरहेको छ । यही समयमा गुप्तचर प्रमुख खाली हुँदा सूचना संयन्त्रमा थप अन्योल हुनसक्ने सुरक्षा मामलका जानकारहरू बताउँछन् ।
थापा ०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। उनको अवकाशसँगै उनकै ‘ब्याचमेट’ मध्येले गुप्तचरको बागडोर सम्हाल्ने देखिएको छ ।
थापासँगै सेवाप्रवेश गरेका ‘ब्याचमेट’ टेकेन्द्र कार्की र ओम प्रकाश जोशी प्रमुखका लागि लबिंगमा छन् ।हाल कार्की प्रदेश समन्वय विभाग, इन्टेलिजेन्स र जोशी प्रशासन विभाग प्रमुखको रुपमा कार्यरत छन्।
जोशी र कार्की दुवै २०५२ सालमा तत्कालीन नेपाल गुप्तचर विभागको इन्स्पेक्टरमा भर्ना भएका हुन् ।