Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा

चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । सोमवारबाट काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्।

अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ गरिने गरिए पनि यसपटक औपचारिक कार्यक्रम बिनै सुरु गरिएको हो। त्यस्ता पसलहरुमा नागरिकले ५ देखि १० रुपैयाँ छुट पाउन सक्नेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले खाद्य व्यवस्था कार्यालयबाट चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरु विक्रीमा राखिएको बताइन्।

उनका अनुसार चामल, गहु दाल, केराउमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ भने चिनीमा ५ रुपैयाँले छुट दिइएको छ। यस्तै, चिउरा, आँटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ मसलाहरुमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ भने तेलमा प्रतिलिटर ७ रुपैयाँका दरले छुट दिएको छ।

खाद्यले सिमी, फापर तथा मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ।

साल्ट ट्रेडिङका ४० बिक्री स्थल

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने भएको छ ।

काठमाडौं उपत्यकाका बासिन्दालाई सहज पहुँच सुनिश्चित गर्न कर्पोरेसनले कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन र बालाजु जस्ता मुख्य स्थानमा पसल खोल्ने छ ।

त्यसैगरी भक्तपुर सल्लाघारी र कौशलटार तथा काठमाडौं काँडाघारी र महाराजगञ्ज र ललितपुर इमाडोमा पनि सहुलियत पसल सञ्चालन हुनेछन् । निश्चित स्थानमा पुग्न नसक्ने उपभोक्तालाई लक्षित गर्दै थप सहजताका लागि तीन वटा घुम्ती पसल पनि सञ्चालनमा ल्याइने कर्पोरेसनले जनाएको छ ।

उपत्यका बाहिर पनि कर्पोरेसनले आफ्नो सेवा व्यापक विस्तार गरेको छ । पूर्वी नेपालको बिर्तामोड र विराटनगरदेखि मधेश प्रदेशका राजविराज, लहान, जनकपुर र वीरगञ्जसम्म सुपथ मूल्य पसल खोलिने छन् ।

बागमती प्रदेशका त्रिशूली, हेटौंडा, नारायणगढ र धुलिखेल तथा गण्डकी प्रदेशका पोखरा र बागलुङमा पनि उपभोक्ताले यो सुविधा पाउनेछन् ।

त्यसैगरी लुम्बिनी प्रदेशका भैरहवा, कृष्णनगर र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र बैतडीको पाटनमा समेत सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077