काठमाडौं । जेनजी समूहको बिद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको ध्यान सबैभन्दा पहिला परामर्श सेवा खरिदमा हुने गरेको सेटिङ र भ्रष्टाचारमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
मन्त्रालय, बिभाग र आयोजनाका कर्मचारीसँग सेटिङ मिलाएर झोले कन्सलटेन्सी खोली परामर्श सेवा खरिदको काम गर्ने क्रम बढेको छ । कर्मचारी समेत नराखी परामर्श जगतमा झोले कम्पनीसँग सरकारी निकायको सेटिङ हुँदा गुणस्तरीय काम नहुने गरेको गुनासो छ ।
विदेशी नागरिकता लिएर नेपालमा परामर्श सेवा खरिदमा सेटिङ गर्ने कार्यसमेत हुँदैआएको छ । र, नेपालमा परामर्श सेवाको काम सेटिङमा लिने र करसमेत छली गरी बिदेश लानेहरु पनि देखिएका छन् ।
यसैक्रममा सपरिवार अष्ट्रेलियामा रहेका र उतैको पीआर लिएका सुमन शर्माले जीओ थ्रीडी मोडलिङ नामक कन्सलटेन्सी खोलेर नेपालका बिभिन्न निकायमा सेटिङमा परामर्श सेवा खरिदको काम गर्दैआएका छन् ।
संघीय सरकारको वन मन्त्रालय, वन बिभागमातहतका आयोजना र कार्यालयहरुमा उनले परामर्श सेवा खरिदमा सेटिङ गर्ने गरेको आरोप छ ।
मधेश प्रदेश, बागमती प्रदेशका वन मन्त्रालय अन्तर्गतका आयोजना र कार्यालयहरुमा समेत कन्सलटेन्सीका काम उनले सेटिङमा लिने गरेका छन् ।
टीओआर र स्पेसिफिकेसनसमेत आफैं बनाएर कर्मचारीलाई ५० प्रतिशत परामर्श सेवा खरिदको काम उनले लिने गरेका छन् ।
मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ सर्लाहीका परामर्श सेवा र तालिमका सबै काम शर्माको कम्पनी जीओ थ्रीडी मोडलिङलाई दिने गरिएको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथमा २ महिनाअघिसम्म निमित्त प्रमुख रहेका नवीन यादवसँग सेटिङ गरी शर्माले तालिम र कन्सलटेन्सीका काम सेटिङमा दिने गरेको स्रोत बताउँछ ।
सागरनाथको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा बर्षौदेखि उनले सेटिङमा परामर्श सेवा खरिदको काम लिने गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले छानबिन गरे पुष्टि हुने स्रोत बताउँछ ।
ड्रोन सिकाउनेदेखि बिभिन्न तालिमका सबै काम केन्द्रले शर्माको जीओलाई दिंदैआएको छ । केन्द्रमा २ महिनादेखि सुमन कर्ण प्रमुख छन् । तर उनलाई समेत नवीन यादवमार्फत् शर्माले सेटिङ गरी परामर्श र तालिमका काम लिने गरेका छन् ।
पछिल्लो समयमात्र सागरनाथको उक्त केन्द्रमा शर्माको जीओ थ्रीडीले सेप्टेम्बर ४ २०२५ मा ड्रोन ट्रेनिङको काम गरेको थियो । त्यसैगरी जुलाई २ मा जीओले टेरिस्टीयरल लेजर स्क्यानिङ ट्रेनिङ गरेको थियो ।
अप्रिल २२ मा अर्को तालिमको काम पनि विगत ४ महिनामा शर्मालाई नै सेटिङमा दिइएको छ । परामर्शदाता कम्पनीसँग निश्चित कर्मचारी र पूर्वाधार हुनुपर्ने ब्यवस्था छ । तर शर्माको जीओ थ्रीडी मोडलिङमा उनी मात्र छन् ।
कार्यालय नै नराखी झोलामा राखिएको छ । र, कन्सलटेन्सीको काम पाएपछि कर्मचारी केही दिनलाई राख्ने गरिएको छ । शर्माले सन् २०१९ मा कन्सलटेन्सी खोलेर संघीय सरकारको वन मन्त्रालय र प्रदेशका वन मन्त्रालयमा ५० प्रतिशत कमिसन दिने र सेटिङमा परामर्शका काम गर्ने गरेका छन् ।
कन्सलटेन्सीका काम सेटिङमा लिने, कम्पनीबाट आएको मुनाफा पनि उनले पीआर लिएकै देश अष्ट्रेलियामा अबैध हुन्डीबाट पठाउने गरेको आरोप छ । अष्ट्रेलियामा पीआर लिएका शर्माले परामर्शदाताको काम सेटिङमा लिने र करसमेत छली गर्ने गरेकोबारेमा आन्तरिक राजस्व कार्यालयले छानबिन गर्नुपर्ने वन बिभागका एक अधिकारीले बताए ।
उनले दुई देशको नागरिकता लिएको आरोप छ । उनले नेपालको नागरिकता नत्यागी यता नेपालीको रुपमा परामर्श सेवाका काम सेटिङमा गर्ने र अष्ट्रेलियामा पीआर देखाउने गरेका छन् ।
संघीय सरकारको वन मन्त्रालय र प्रदेशका वन मन्त्रालय अन्तर्गतका परामर्शसेवाका काम टीओआर र स्पेसिफिकेसनसमेत आफैं बनाएर दिने र सेटिङमा लिने गरेकोबारेमा जीओ थ्रीडी मोडलिङका संचालक सुमन शर्मासँग प्रतिक्रिया लिंदा उनले भने–सबै कुरा गलत र वाहियात हुन् ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथमा बिभिन्न मितिमा जीओले दिएको तालिमका बारेमा सोध्दा पनि उनले सत्य नभएको बताए ।
तपाईको सपरिवार अष्ट्रेलियामा रहेको र तपाईको समेत उतैको पीआर भएको, नेपालमा परामर्श सेवाको कामबापत लिएको पैसा समेत अबैध हुन्डीबाट पठाएकोबारेमा पनि उनले केही बोल्न चाहेनन् । वाहियात हो मात्र भनिरहे ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथका सूचना अधिकारी नवीन यादवले शर्माको जीओ थ्रीडीलाई सेटिङमा परामर्श सेवाको काम दिनेगरेकोबारेमा सुरुमा त तालिम दिन लगाएको र त्यसबापत १ हजार ५ सय रुपैयाँमात्र पारिश्रमिक दिएको दाबी गरे ।
काठमाडौंबाट दैनिक १ हजार ५ सय रुपैयाँमा तालिम दिन को जान्छ भन्ने जिज्ञासामा उनले भने दिनमा ३–४ वटा तालिम हुने र ५ हजार रुपैयाँ दिने गरिएको बताए । ५ हजारमा पनि हवाई भाडा तिरेर तालिम दिन को आउँछ र भन्ने प्रश्नमा उनले भने–‘विमानभाडा केन्द्रले बेहोर्ने गरेको छ ।’
केन्द्रले शर्माको जीओलाई मात्र किन तालिमको काम दिने गरेको हो भन्ने जिज्ञासामा उनले जीओको ड्रोन अरुको भन्दा गुणस्तरीय भएकाले दिएको दाबी गरे ।