काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा अनुसार प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको छ ।
गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।