काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान जटिलतालाई चिरेर जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
जारी सन्देशमा प्रचण्डले लेखेका छन्- 'हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशन मार्फत जेनजी सहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृहकार्य भइरहेको छ। वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।'
माओवादी पार्टीले जेनजीका मागलाई समर्थन तथा पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै सङ्गठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको संयोजक दाहालले सन्देशमा उल्लेख गरेका छन् ।
जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दालाई सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा सिङ्गो मुलुक उभिएको जनाउँदै संयोजक दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बेला आएको बताएका छन् ।