काठमाडौं। जेनजी आन्दोलन सुरु हुनुअघि माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको घरबाट ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको प्रचण्ड सचिवालयले खण्डन गरेको छ।
केही दिनअघि नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीले एक अन्तरवार्तामा प्रचण्डको घरबाट जेनजी आन्दोलनको दुई दिनअघि पैसा ओसारिएको दाबी गरेका थिए । दुई वटा ट्रकमा हालेर दुई करोड निकालिएको उनको दाबी सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
उक्त चर्चाको प्रमाण ल्याउन प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले चुनौती दिएका छन् ।
आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ- 'हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेनजी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं ।'
यस्तै सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको नोटमा उल्लेख गरिएको छ।
प्रेस नोट:
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेकपा (माओवादी केन्द्र) का संयोजक कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी प्रकाशित/प्रसारित समाचार तथा सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं ।
हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरुमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ । त्यसैगरी कुनै पनि संचार माध्यममा समाचार प्रवाह गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको न्यूनतम दायित्व हो । तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ । जुन गम्भीर तथा आपत्तिजनक छ ।
हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं ।
साथै, डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं । भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहने स्पष्ट गर्दै यसखालका भ्रामक कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायसँग हार्दिक अपिल गर्दर्छौं ।
मितिः २०८२ असोज २६ गते
गोविन्द आचार्य
संयोजक कमरेड प्रचण्डको सचिवालयको तर्फबाट