काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको स्थलगत निरिक्षण गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारीबर्षा हुने प्रक्षेपण गरेपछि ललितपुर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरुले आज चोभार गल्छीको निरिक्षण गरेका हुन् ।
घिमिरेले भने- 'अहिले तत्काल गर्न सकिने थप केही छैन । हाम्रो प्राथमिकता भनेको जनधनको सुरक्षा कसरी गर्ने भन्ने मात्र हो। त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई केही दिन सुरक्षित स्थानमा जान भनेका छौं ।'
उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा पनि बन्द गरिएको छ ।
यस्तै उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए ।
गत वर्ष पनि असोज १० देखि १३ गतेभित्र काठमाडौं उपत्यकाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि थुप्रै बस्तीहरू डुबानमा परेका थिए ।