काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग मंगलबार ललितपुरको बागडोलस्थित निवासमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यसहित विभिन्न पक्षसँग भइरहेका परामर्शक्रममै अर्याल र यादवबीच संवाद भएको हो ।
भेटका क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको जनसन्देशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउने तथा निर्वाचन तयारीलाई सरकारको अर्जुनदृष्टि बनाएर अघि बढाइएको जानकारी गराए ।
उनले अभिभावकको भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै वर्ग र राजनीतिक शक्तिहरूलाई आगामी निर्वाचनमा सहभागी हुन उत्प्रेरित गरिदिन आग्रह गरे।
पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन गरिएको प्रयासको प्रशंसा गर्दै भने, “पूर्वप्रधानन्यायाधीशको नेतृत्व र स्वतन्त्र व्यक्तिहरूको सहभागिता भएकाले यो सरकारले निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्छ भन्ने विश्वास म गर्छु।”
उनले २०७० सालमा खिलराज रेग्मी नेतृत्वको सरकारले चुनौतीपूर्ण परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको प्रसंग स्मरण गर्दै अहिले पनि त्यस्तै राजनीतिक परिपक्वता र एकता आवश्यक रहेको बताए।
पूर्वराष्ट्रपति यादवले सरकारलाई निर्वाचनका तयारीमा दृढता र पारदर्शिता कायम राख्न सुझाव दिँदै देशलाई स्थायित्व र लोकतान्त्रिक मार्गमा अघि बढाउने आग्रह गरे।