काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा बुधबार दिउँसो १ बजे एकता हुन लागिएको हो। आइतबार यी आठ दल/समूहबीच एकताको सहमति भएको थियो ।
आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने नेताहरूले बताएका छन् ।
आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा साम्यवादीबीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ ।
यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको थियो । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने उल्लेख छ ।
एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ।