काठमाडौं । अन्तरिम सरकारले २१ फागुनका लागि घोषित निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरेको बताइरहँदा विघटित प्रतिनिधिसभाका दुई ठूला दल संसद् पुनःस्थापनाको कानुनी र राजनीतिक अभियानमा होमिएका छन् ।
विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले गत बिहीबारबाटै ससद् पुनःस्थापनाका लागि भन्दै हस्ताक्षर अभियान थालेको छ भने कांग्रेसले पनि औपचारिक रूपमा हस्ताक्षर संकलन थालेको छ ।
एमालेले वर्तमान सरकारलाई अवैधानिक भनी कानुनी र जनदबाब अभियानबाटै पुनःस्थापना गराउने भन्दै हस्ताक्षर थालेको केही दिनपछि कांग्रेस पनि एमालेकै बाटोमा पुगेको हो ।
विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विघटनविरुद्ध हस्ताक्षर संकलन थालिएको बताएका छन् ।
‘शनिबारबाट हामीले हस्ताक्षर संकलन गरिरहेका छौं, यो हस्ताक्षर लिएर अदालतमा मुद्दा हाल्न जाने कि केन्द्रीय समितिमा लगेर राजनीतिक अभियानमा लगाउने भन्ने छलफल जारी छ,’ प्रमुख सचेतक घिमिरेले भने ।
कांग्रेस र एमाले दुवै दलका बैठकले यसअघि नै प्रतिनिधिसभा विघटनलाई अवैधानिक भएको निष्कर्ष निकाले पनि घोषित मितिको निर्वाचनका विषयमा पनि औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।
सुरक्षाको कारण देखाउँदै उनीहरू घोतिष मितिको निर्वाचनमा शंका गरिरहेका छन् । तर, निर्वाचनमा भाग नलिने या लिने विषयमा औपचारिक निर्णय गर्न भने सकिरहेका छैनन् । राजधानी दैनिकबाट