काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ ।
बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने उद्देश्यले बैठक आह्वान गरेको बताइएको छ । यस्तै बाराको सिमरामा बुधबारदेखिको झडप र तनावपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
एमालेनिकट युवा संघका कार्यकर्ता र ‘जेन(जी’ समूहबीच भएको झडपपछि बुधबारदेखि कर्फ्यु लगाइएको छ । बिहीबार बिहानैदेखि जेनजी समूहले कारबाहीको मागसहित आन्दोलन चर्काएपछि कर्फ्यु अवधि राति ८ बजेसम्म थपिएको प्रशासनले जनाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षा, अर्थ, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षा मन्त्रालयका सचिव सदस्य रहनेछन् ।
प्रधानमन्त्री कार्कीले यसअघि नै रक्षा र परराष्ट्र दुवै मन्त्रालयको जिम्मेवारी सम्हालेकाले बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा सचिव सुमनराज अर्याल सहभागी भएका छन्।
यसअघि एकीकृत निर्वाचन सुरक्षा योजना–-०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ । सेना परिचालनका लागि गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा औपचारिक पत्राचार गरिसकेको छ।