काठमाडौं । गृह मन्त्रालयले केही एआईजी र डीआईजीको सरुवा तयारी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालय रिक्त भएकाले सरुवा हुन लागेको छ ।
उपत्यका प्रहरी कार्यालयमा कार्यरत दानबहादुर कार्की आईजीपीमा नियुक्त भएपछि रिक्त भएको १० दिन भइसकेको छ । रिक्त स्थानमा ईश्वर कार्कीको बढुवा सिफारिस भइसकेको छ । उनको बढुवा र पदस्थापनसँगै केही एआईजीको जिम्मेवारी हेरफेरको सम्भावना रहेको स्रोत बताउँछ ।
आईजीपी कार्कीकै ब्याचका राजन अधिकारी र मनोज केसी उपत्यका प्रहरी कार्यालयका दाबेदार हुन् । तर, अहिलेको कठिन समयमा उपत्यका प्रहरीको इन्चार्जमा जान उनीहरु तयार नभएको स्रोत बताउँछ ।
एआईजीहरु उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौर र हिमालय श्रेष्ठ भने सरुवा हुन चाहेका छन्। शिद्धिबिक्रम शाहले खासै चासो दिएका छैनन्। बढुवा सिफारिस भएका ईश्वर कार्की पनि आफ्नो पदस्थापन उपत्यकामा गराउन दौडधुपमा छन् । तर, उनले अहिले कमाण्ड सम्हाल्न नसक्ने चर्चा छ ।
त्यस्तै, कोशी प्रदेशमा जान आधा दर्जन डीआईजीको दौधधुप छ । पुरानो ब्याचका बिनोद घिमिरे, सुरेन्द्र गुरुङ, सुदर्शन कोइराला, दिपक रेग्मी लागेका छन् ।
हालै बढुवा भएका सानुराम भट्टराई, अधिनारायण काफ्ले लगायत पनि आफ्नो गृह प्रदेशमा जाने दौडधुपमा छन्। साथै अन्य केही प्रदेशका डीआईजीको पनि जिम्मेवारी हेरफेरको सम्भावना रहेको स्रोत बताउँछ ।