काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रको साथमा सरकार रहेको बताइएपनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गरे । अन्तरिम सरकारले ल्याएका नीतिहरु विधि विपरित रहेको भन्दै स्थायी सरकारले उल्ट्याइदिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको बताए ।
उनले भने- 'अर्थमन्त्रीज्युले भर्खरै भन्नुभयो, निजी क्षेत्रको साथमा सरकार छ । निजी क्षेत्र र सरकार त साथमा छ । यो सरकारको आयु कति हो । तर स्थायी सरकार हाम्रो साथमा छैन जस्तो लाग्छ । सरकारले जे पनि नीतिहरु ल्याउँछ, स्थायी सरकारले त्यसलाई कानून विपरित भयो भनेर पल्टाइदिन्छ'
वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने पनि बताए । सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सूचित गर्नुपर्ने बताए ।