काठमाडौं । नेपाली काँग्रेस धादिङका सभापति एवम पुर्व कृषिमन्त्री रामनाथ अधिकारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरेका छन् ।
मंगलबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाउन बसेको संयुक्त बैठकमा उनले जेनजीको भावना अनुसार आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
जेनजीहरुले राजनीतिक दल नै नचाहिने नभनेको बरु दलभित्रको खराब प्रवृत्तिलाई अन्त्य गर्न माग गरेको उनको बुझाइ छ । जेनजीले भनेजस्तो पुस्तान्तरणका लागि कोही तयार नभएपछि आफैँ अघि सरेको उनले बताए ।
सामाजिक सञ्जाल फेसबुकमा राखिएको एक अन्र्तवार्ता भिडियोमा अधिकारीले भनेका छन्- 'जेनजीहरुले राजनीतिक दल चाहिँदैनन् भनेका होइनन् नि, उनीहरुले दलभित्र पनि पुस्तान्तरण हुनुपर्यो भनेका हुन् । त्यही भएर मैले अब आफैँबाट सुरु गरेर जेनजीको भावना अनुसार आगामी संसदीय निर्वाचनमा भाग नलिने बरु अरुलाई नै जिताउन लाग्ने निर्णय गरेँ ।'
फागुन २१ को निर्वाचन जेनजीहरुको भावना मुताबिक बनेको सरकारले घोषणा गरेको बताउँदै जेनजीहरुकै भावना अनुसार नयाँ पुस्ता अघि आउनुपर्ने उनको जोड छ । निर्वाचन नलडेपनि पार्टीको राजनीतिमा निरन्तर सक्रिय रहि कुनै न कुनै जिम्मेवारीमा रहेर काम गर्ने तयारीमा रहेको उनले बताएका छन् ।
रामनाथ गत निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
जेनजी आन्दोलन हुँदा तत्कालीन कृषिमन्त्री रहेका अधिकारीले आफूलाई अपराध बोध भएको भन्दै भदौ २४ गते बिहानै राजीनामा दिएका थिए।