धादिङ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको टिमलाई बधाई दिएका छन् ।
डा. शेखर कोइराला निकट रहेका सभापति अधिकारीले बधाई दिँदै निर्वाचनमा लाग्न आग्रह गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका अधिकारीले नेपाली कांग्रेस धादिङले पार्टीको विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका क्रममा चलेका बहस तथा गतिविधिहरूलाई विचार-मन्थनको स्वाभाविक अभ्यासका रूपमा ग्रहण गर्दै त्यसबाट परिपक्व परिणाम निस्किएको विश्वास व्यक्त गरे ।
लोकतान्त्रिक राष्ट्रशक्तिको रूपमा कांग्रेसले आफूलाई जनभावनाअनुकूल विधिसम्मत र समयानुकूल रूपान्तरण गर्दै देश र जनताको हितमा समर्पित हुनुपर्ने दायित्व रहेको विज्ञप्तिमा अधिकारीले जारी गरेको जनाइएको छ । महाधिवेशनबाट नयाँ नीतिनिर्माण र नेतृत्व चयन भएको जनाउँदै जिल्ला कार्यसमितिले यसलाई सकारात्मक कदमका रूपमा लिएको छ।
साथै विज्ञप्तिमा भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गत २३ भदौमा जेनजी तथा नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात् गर्दै पार्टीभित्र नीति र नेतृत्व परिवर्तन, रूपान्तरण र सुधारको एजेन्डासहित विशेष महाधिवेशन सम्पन्न भएको उल्लेख छ।