काठमाडौं । सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेको छ ।
राजनीतिक दलहरूसँग संवादका लागि सरकारद्वारा गठित समितिको टोलीले आज माओवादी केन्द्रको कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले भदौ २४ गते भएको आगलागीबाट पार्टी कार्यालयमा पुगेको संरचनागत तथा भौतिक क्षतिबारे जानकारी लिएका थिए ।
सो अवसरमा मन्त्री खरेलले माओवादी केन्द्रका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता पनि गरेका छन् । भेटमा आगलागीबाट भएको क्षति, त्यसपछिको राजनीतिक परिस्थिति तथा समग्र संवाद प्रक्रियाबारे छलफल भएको बताइएको छ ।
यसअघि सरकारी टोलीले नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयकोसमेत अनुगमन गरेका थिए ।