काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता हुने भएको छ ।
बुधबार सम्पन्न सहमतिअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकतासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन्।
दुवै दलबीच लामो समयदेखि चल्दै आएको एकतासम्बन्धी छलफलले अन्ततः औपचारिक रूप पाएको हो।
सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा देशको विद्यमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्नु समयको माग भएको उल्लेख गरिएको छ।
एकताको औपचारिक घोषणा यही पुस १६ गते काठमाडौंस्थित राष्ट्रियसभागृहमा आयोजना हुने विशेष समारोहमार्फत गरिने जनाइएको छ।
कार्यक्रममा दुवै दलका शीर्ष नेताहरू, केन्द्रीय सदस्य तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहनेछ।