काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समयसीमाको पहिलो दिन आइतबार अपराह्नसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मात्र निर्वाचन आयोगमा सूची पेश गरेको छ।
निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आइतबार दिउँसो ४ बजेर १५ मिनेटसम्म एक मात्र दलले समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गराएको हो। नेमकिपाले कुल ११० जना उम्मेदवारको बन्दसूची आयोगमा बुझाएको उनले जानकारी दिए।
भट्टराईका अनुसार अन्य केही दलहरू पनि बन्दसूची पेश गर्न आयोग पुगेका थिए। तर सूचीमा समावेश उम्मेदवारहरूको मतदाता परिचयपत्रमा समस्या देखिएपछि उनीहरूले बन्दसूची फिर्ता लगेका छन्। आवश्यक सुधारपछि पुनः पेश गरिने आयोगले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारहरूको नामावलीसहित बन्दसूची पेश गर्न निर्वाचन आयोगले पुस १४ गतेसम्मको समयसीमा तोकेको छ।
आयोगले तोकेको अवधिभित्र सबै दलले कानुनी मापदण्ड पूरा गरी बन्दसूची दर्ता गराउने अपेक्षा गरिएको छ।