काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको विषयमा सरकारको आधिकारिक जवाफ माग गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी प्रमुख सचेतक युवराज दुलालले सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सो माग गरेका हुन् ।
उनले भने- 'नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर किन उड्यो ? सरकारको आधिकारिक जवाफ दिनुपर्छ ।'
जेठ २७ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुको आकाशमा अनुमतिविना भारतीय सैनिक हेलिकप्टर उडेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले पुष्टि गरेको थियो ।
भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आइटीबीपी)का डिजी शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर दार्चुलाको छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको थियो ।
त्यसपछि सशस्त्र प्रहरी बलमार्फत जानकारी आएपछि यस विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा मौखिक जानकारी गराएको थियो । जसबाट आईटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको थियो ।
दुलालले भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उनले उल्लेख गरे । त्यसैले उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।