Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयातित अलकत्रा होइन, स्वदेशी सिमेन्ट प्रयोग गरौँ : मुख्यमन्त्री बानियाँ

आयातित अलकत्रा होइन, स्वदेशी सिमेन्ट प्रयोग गरौँ : मुख्यमन्त्री बानियाँ

मंगलवार , माघ ६, २०८२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा आयातित अलकत्राको प्रयोग घटाई स्वदेशमै उत्पादन हुने सिमेन्ट प्रयोग गर्नु पर्ने बताएका छन् ।

सडकका लागि कठोर पक्कीकरण (कङ्क्रिट रोड) को डिजाइन तथा निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।

उनले अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्द्धन मात्र नभई देशको व्यापार घाटा न्यूनीकरणतर्फको ठोस कदम भएको बताए ।

मुख्यमन्त्री बानियाँले दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य रहेको बताउँदै बागमती प्रदेश सरकार र सिमेन्ट उद्योगबीच सहकार्य गरी आगामी बजेटमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

'सिमेन्टको अधिकतम खपतका लागि कालोपत्रे सडकको सट्टा कङ्क्रिट सडकतर्फ जानुपर्छ,' उनले भने । कार्यक्रममा इन्जिनियर अर्जुन जंग थापाले ‘कठोर पक्कीकरणको परिचय तथा नेपालमा यसको सान्दर्भिकता’ विषयमा प्रस्तुतीकरण गरे ।

उनले नेपालको भौगोलिक बनावट, मौसमीय अवस्था, कमजोर सबग्रेड, बढ्दो सवारी चाप तथा भारी ढुवानीका कारण सडकको दिगोपनामा देखिएका चुनौतीहरू औँल्याउँदै कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो विकल्प भएको स्पष्ट पारे ।

मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपाल प्रालिको सहजीकरणमा कार्यक्रम हेटौंडामा भएको थियो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077