एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भएको भीषण भिडन्तमा कम्तीमा १२५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा कारबाहीका क्रममा ९२ जना पृथकतावादी लडाकू मारिएका छन् । यसै क्रममा १५ जना सुरक्षाकर्मी र १८ जना सर्वसाधारणको पनि ज्यान गएको जनाइएको छ ।
इरान र अफगानिस्तानसँग सीमा जोडिएको बलुचिस्तानमा दशकौँदेखि पृथकतावादी विद्रोह जारी छ । शनिबार भएका आक्रमणहरूको जिम्मेवारी प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले लिएको छ ।
बीएलएले प्रान्तभर एकैसाथ आक्रमण गरिएको र करिब १५ घण्टासम्म चलेको कारबाहीमा ८४ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ। तर पाकिस्तानी सेनाको सञ्चार शाखा आइएसपीआर ले उक्त दाबी अस्वीकार गर्दै आक्रमण भारत प्रायोजित लडाकूहरूबाट गरिएको आरोप लगाएको छ।
आक्रमणहरू क्वेटा, मस्तुङ, नोष्की, दलबन्दिन, खारान, पञ्जगुर, तुम्प, ग्वादर र पास्नी क्षेत्रमा भएका थिए।
क्वेटाका केही क्षेत्रमा सशस्त्र समूहले अस्थायी रूपमा सडक अवरुद्ध गरेको र उच्च सुरक्षा क्षेत्र नजिक विस्फोटको आवाज सुनिएको भए पनि पछि स्थिति नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। केही जिल्लाका अस्पताललाई आपतकालीन अवस्थामा राखिएको छ।
पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय बलुच समूहद्वारा लामो समयदेखि विद्रोह हुँदै आएको छ।