Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डविरुद्ध चुनाब लडेका सन्दिप पुनको कार्ययोजना : रुकुममै बस्ने, रुकुममै कमाउने

प्रचण्डविरुद्ध चुनाब लडेका सन्दिप पुनको कार्ययोजना : रुकुममै बस्ने, रुकुममै कमाउने

बुधवार , माघ २१, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका सन्दीप पुनले “समृद्ध रुकुम पूर्वको साझा संकल्प” शीर्षकसहित आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन् ।

'शब्द होइन, व्यवहार बदलौंस रुकुम पूर्व समृद्ध बनाऔं' भन्ने मूल नारासहित सार्वजनिक गरिएको कार्ययोजनामा न्याय, विकास, आत्मनिर्भरता र जनउत्तरदायी शासनलाई केन्द्रमा राखिएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवार बनेका पुनले आफू शहीदका सन्तान भएको उल्लेख गर्दै, शहीदको विरासतलाई भावनामा होइन व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।

दस वर्षे जनयुद्धकै बीचमा जन्मिएका पुनका आमाबुवा दुवै २०५९ सालमा शहादत प्राप्त गरेका थिए। संघर्ष, अभाव र विस्थापनको जीवन भोग्दै हुर्किएका पुनले यही अनुभवले आफूलाई जिम्मेवार र जनताको पीडासँग नजिक बनाएको बताए।

कार्ययोजनामा पुनले जनताको सत्य बोल्ने राजनीति आफ्नो मूल दर्शन भएको स्पष्ट गरेका छन्। भाषण र आश्वासनमा होइन, मापनयोग्य काम, समयसीमा र परिणामसहितको राजनीतिमा आफू विश्वास गर्ने उनको भनाइ छ।

जनतासँग नियमित संवाद, सार्वजनिक सुनुवाइ, खर्च र निर्णयको पूर्ण पारदर्शिता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र दुर्गम समुदायको अनिवार्य सहभागिता उनको राजनीतिक प्रतिबद्धतामा समेटिएको छ।

दुर्गमता अन्त्यदेखि आत्मनिर्भर अर्थतन्त्रसम्म कार्ययोजनाको पहिलो प्राथमिकतामा रुकुम पूर्वको दुर्गमता अन्त्य राखिएको छ।

शहीद मार्गलाई रणनीतिक राष्ट्रिय मार्गका रूपमा विकास, रुकुम पूर्व–डोल्पा सडक स्तरोन्नति, झोलुङ्गे पुललाई मोटरेबल पुलमा रूपान्तरण, आपतकालीन यातायात कोष र स्थानीय श्रम प्रयोग गरेर सडक निर्माण गर्ने योजना अघि सारिएको छ।

ऊर्जा क्षेत्रलाई आत्मनिर्भरताको आधार मान्दै पुनले भेरी–उत्तरगंगा–पेल्मागाड जलविद्युत आयोजना स्थानीय स्वामित्व, रोजगारी र लाभ सुनिश्चित हुने मोडेलमा अघि बढाउने बताएका छन्।

सस्तो र स्थिर विद्युत, स्थानीय उद्योग सञ्चालन, कृषि तथा वनजन्य उत्पादन प्रशोधन र ऊर्जा–आधारित रोजगारी सिर्जना उनको दीर्घकालीन लक्ष्यमा समेटिएको छ।

कृषि, वन, उद्योग र रोजगारी

कृषि र वन क्षेत्रमा रुकुम पूर्वलाई कच्चा पदार्थ आपूर्तिकर्ता होइन, उत्पादन, प्रशोधन र मूल्य अभिवृद्धिको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

स्याउ सुपर जोन, जडीबुटी खेती, नगदे बाली, सामुदायिक वनमा आधारित उद्योग, कोल्ड स्टोर र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने योजना कार्ययोजनामा उल्लेख छ ।

खानी र उद्योग क्षेत्रमा वैज्ञानिक उत्खनन, स्थानीय प्रशोधन उद्योग, युवालाई सीप तालिम र रोजगारी, वातावरणीय सन्तुलन र समुदायको पूर्ण सहमतिलाई अनिवार्य बनाउने नीति लिइएको छ।

युवा नीति : 'रुकुममै बस्ने, रुकुममै कमाउने'

युवालाई लक्षित गर्दै पुनले “पलायन होइन, उत्पादन” को नीति अघि सारेका छन्। ऊर्जा, पर्यटन, कृषि, आईटी र उद्योग क्षेत्रमा सीपमूलक शिक्षा, स्टार्टअप कोष, सहुलियत ऋण, नवप्रवर्तन केन्द्र, डिजिटल सीप र फ्रीलान्सिङ प्रवर्द्धन गरी युवालाई गाउँमै रोजगारी दिने लक्ष्य राखिएको छ।

शिक्षा र स्वास्थ्य

शिक्षालाई समान अवसरको आधार मानेर मातृभाषामा प्रारम्भिक शिक्षा, डिजिटल कक्षा, छात्रवृत्ति, प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिने योजना छ।

स्वास्थ्य क्षेत्रलाई नागरिकको मौलिक अधिकारको रूपमा व्याख्या गर्दै सबै वडामा २४ घण्टा आधारभूत सेवा, मोबाइल स्वास्थ्य सेवा, विशेषज्ञ शिविर र एम्बुलेन्स सुदृढीकरणको प्रतिबद्धता जनाइएको छ।

पर्यटन : रुकुम पूर्वको गौरवशाली इतिहास, संस्कृति र प्राकृतिक सम्पदा

रुकुम पूर्व केवल हिमाली भेग मात्र नभई, इतिहास, संस्कृति र साहसिक अवसरले भरिपूर्ण क्षेत्र हो। यहाँको इतिहास, सांस्कृतिक विविधता र मौलिक पहिचान संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

कार्ययोजनामा होमस्टे, स्थानीय गाइड तालिम, सांस्कृतिक अनुभव कार्यक्रम र गाउँमै पर्यटकलाई रोजगारी दिने नीति समावेश छ। यसले स्थानीय उत्पादन, हस्तकला, कृषि अनुभव र भोजनसँग पर्यटनलाई जोडेर समुदायमै आम्दानी वितरण सुनिश्चित गर्ने छ।

रुकुम पूर्वका प्रमुख पर्यटकीय स्थलहरू रूपौली बेस क्याम्प, सनुदह, कमल ताल, ५२–५३ पोखरी, गपुत दह, मगरखाम लगायत रहेका छन्। यी स्थलहरूमा ट्रेकिङ, साहसिक पदयात्रा, जलक्रीडा र इको–टुरिज्मका अवसर सिर्जना गरिने छ।

त्यस्तै, युद्धस्थल र शहीद स्मारकको संरक्षण गरी इतिहासिक पर्यटन ९च्भम त्यगचष्कm० प्रवर्द्धन गरिने छ। यसले न केवल स्थानीय युवालाई रोजगार र सीप विकासका अवसर प्रदान गर्नेछ, तर रुकुम पूर्वलाई दीगो र समावेशी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नेछ।

शहीद, बेपत्ता र सामाजिक न्याय

शहीद परिवारको जीवनयापन ग्यारेन्टी, बेपत्ताको न्याय, घाइते योद्धाको उपचार र पुनःस्थापनालाई नैतिक दायित्वका रूपमा प्रस्तुत। दलित, महिला, जनजाति, अपाङ्गता भएका र पछाडि पारिएका समुदायको हक सुनिश्चित गर्दै पारदर्शी, उत्तरदायी र समावेशी शासन निर्माण गर्ने प्रतिबद्धता।

शासन, सुशासन र सञ्चार

भ्रष्टाचार शून्य सहनशीलता, सार्वजनिक खर्च पारदर्शी बनाउने, सबै वडामा समान पहुँच सुनिश्चित गर्ने। डिजिटल सेवा विस्तार, पेपरलेस जिल्ला अभियान, हाई(स्पीड इन्टरनेट, मोबाइल बैंकिङ, अनलाइन सेवामा पहुँच र सूचना प्रविधि केन्द्र स्थापना ।

समापन अपिल

पुनले अन्त्यमा भने,'हामी आश्वासनमा विश्वास गर्दैनौं, कर्ममा विश्वास गर्छौं। रुकुमपूर्वमै बस्ने, रुकुमपूर्वमै कमाउने र रुकुमपूर्वकै समृद्धिका लागि यो साझा संकल्प हो। आँखा चिह्नमा मतदान गरी रुकुमपूर्वको भविष्य सुरक्षित गर्नुहोस्। जनताको आवाज, जनताको शक्ति, जनताको विकास यसै हाम्रो अभियान।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077