झापा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्नुपर्ने भन्दै ३५ वटा कारण सार्वजनिक गरेको छ।
पार्टीको झापा–५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको चुनावी अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, विकास निर्माणका अधुरा योजना सम्पन्न, शान्ति सुरक्षा, आर्थिक चलायमानता र कृषि आत्मनिर्भरता लगायतका विषय समेटिएका छन्।
‘अध्यक्ष ओलीलाई नै भोट किन ?’ शीर्षकमा जारी अपिलमार्फत एमालेले झापा–५ का मतदातालाई ओलीलाई जिताउन आग्रह गर्दै देशको खस्किएको मनोबल उठाउन समेत ओली आवश्यक रहेको दाबी गरेको छ।
अपिलमा भनिएको छ,‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनु पर्दछ।’
साथै, झापा–५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू पूरा गर्न ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ।
एमालेले निर्माणाधीन एसीयन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडक जस्ता राष्ट्रिय महत्वका परियोजनाको अधुरो काम सम्पन्न गर्न पनि ओलीलाई जिताउनुपर्ने अपिल गरेको छ।
त्यस्तै, दमकको आर्थिक र मानवीय स्रोतका रूपमा रहेको दमक–रवि–चिसापानी सडक निर्माण पूरा गरी जनताको जीवनस्तर उकास्न ओलीलाई निर्वाचित गर्नुपर्ने माग गरिएको छ।
अपिलमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई झापा–५ बाट निर्वाचित गर्नुपर्ने उल्लेख गरिएको छ।
साथै दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रूपमा विकास गर्न ओलीलाई मत दिन आग्रह गरिएको छ।
एमालेले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि पनि ओलीलाई मतदान गर्नुपर्ने बताएको छ।
एमालेका केन्द्रीय सदस्य दिपक कार्कीका अनुसार रतुवा, मावा, कमललगायत खोलाहरूको तटबन्धन कार्य सम्पन्न गर्न पनि ओलीलाई जिताउन मतदातासँग आग्रह गरिएको हो।
एमालेले सार्वजनिक गरेको ३५ बुँदे अपिलले झापा–५ मा चुनावी प्रतिस्पर्धालाई थप तातेको छ भने ओलीको पक्षमा जनमत थप सुदृढ बनाउने रणनीति पार्टीले लिएको देखिएको छ।