काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र उसका भातृसंगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएको विरोधमा देशका विभिन्न शहरमा मसाल जुलुस र कालो झण्डा प्रदर्शन गरेका छन्।
एमालेले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार राति तुलसीपुरमा पार्टीको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले उक्त घटनालाई राजनीतिक असहिष्णुता र उक्साहटपूर्ण गतिविधि भन्दै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
झण्डा दहनको विरोधमा दाङसहित प्रमुख शहरहरूमा एमालेका भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियू र भोलिन्टियर फोर्सले मसाल जुलुस र कालो झण्डा प्रदर्शन गरेका हुन्।
भातृसंगठनहरूले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही नगरे थप कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।
यसबीच नेपाल प्रहरी ले घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरका एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।