सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्य पदबाट पदमुक्त भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४(१) बमोजिम पार्टीबाट निष्कासन भएपछि उनको सांसद पद स्वतः समाप्त भएको हो।
शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए। त्यसपछि उनी निर्वाचित भएको दल माओवादी केन्द्रले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।
निष्कासन सम्बन्धी पत्र प्रदेश सभामा दर्ता भएपछि कर्णाली प्रदेश सभा सचिवालयले बुधबार औपचारिक सूचना जारी गर्दै उनलाई पदमुक्त भएको जनाएको हो।
प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा, निर्वाचित दलले निष्कासन गरेको जानकारी प्रदेश सभामा प्राप्त भएसँगै सांसद पद रिक्त हुने कानुनी व्यवस्था रहेको उल्लेख छ।
शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम (पश्चिम) १ ‘ख’ बाट नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए। उनले २० हजार १६० मत प्राप्त गरेका थिए ।
उनी २०७९ पुस २७ गतेदेखि २०८० चैत २१ गतेसम्म कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका थिए। उनको पदमुक्तिसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभामा अब ३९ सदस्य मात्र रहेका छन्।
राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार दल त्याग वा निष्कासनको अवस्थामा सांसद पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ।